हाम्रो इतिहास
हाम्रो गौरवपूर्ण यात्रा
दोलखा जिल्लाको सहकारी अभियानमा जनसचेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेड को गौरवपूर्ण र प्रेरणादायी इतिहास रहेको छ। सामुदायिक आत्मनिर्भरता, आपसी सहयोग तथा आर्थिक सशक्तीकरणको साझा उद्देश्य बोकेर तत्कालीन हनुमन्तेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री यज्ञराज ढुंगेलको नेतृत्वमा ३४ जना सामाजिक अभियन्ताहरूको सक्रिय सहभागितामा वि.सं. २०५० साल असोज २२ गते जनसचेतनाको स्थापना भएको हो। संस्था वि.सं. २०५० साल मंसिर १ गते जिल्ला सहकारी कार्यालय, धुलिखेलमा दर्ता भएको हो। संस्थाको दर्ता नं. ८१/२०५०/२०५१ रहेको छ।
प्रारम्भमा काब्रे, नाम्दु, मिर्गे र गैरिमुदी क्षेत्रबाट सेवा प्रारम्भ गरेको जनसचेतनाले समयसँगै आफ्नो सेवा र पहुँच विस्तार गर्दै दोलखा, काभ्रेपलाञ्चोक, भक्तपुर तथा काठमाडौं जिल्लासम्म आफ्नो उपस्थितिलाई विस्तार गरेको छ। हाल संस्थाको केन्द्रीय कार्यालय दोलखा जिल्लाको बैतेश्वर गाउँपालिका अन्तर्गत मुख्य व्यापारिक तथा यातायात केन्द्रका रूपमा विकसित हुँदै गएको मैनापोखरीमा अवस्थित छ। मैनापोखरी जिरीलगायत क्षेत्रसँग जोडिएको महत्वपूर्ण व्यापारिक तथा आवागमन केन्द्रका रूपमा समेत विकसित हुँदै गएको छ। ३४ जना सामाजिक अभियन्ताहरूको साझा सोच र प्रतिबद्धताबाट प्रारम्भ भएको जनसचेतना आज सदस्यहरूको विश्वास, सहभागिता र निरन्तर सहयोगका आधारमा एक स्थापित सहकारी संस्थाका रूपमा अघि बढिरहेको छ।