नवराज दहाल
प्रमुख कार्यकारी अधिकृतआदरणीय शेयर सदस्यज्यूहरू, शुभेच्छुक तथा सम्पूर्ण सरोकारवालाहरू,
जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (CEO) का रूपमा सेवा गर्ने अवसर प्रदान गर्नुभएकोमा म हार्दिक धन्यवाद व्यक्त गर्दछु।
दोलखा जिल्लामा सहकारी अभियानको प्रवर्द्धन तथा विकासमा गौरवपूर्ण इतिहास बोकेको जनसचेतन जस्तो प्रतिष्ठित संस्थाको प्रमुख कार्यकारी अधिकृतका रूपमा सेवा गर्न पाउनु मेरा लागि अत्यन्तै सम्मान र गौरवको विषय हो। संस्थाले स्थापनाकालदेखि नै आफ्ना शेयर सदस्यहरूको सामाजिक तथा आर्थिक उत्थानका साथै संस्थाको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
प्रमुख कार्यकारी अधिकृतका रूपमा संस्थाले निर्माण गरेको गौरवपूर्ण विरासतलाई व्यावसायिकता, इमानदारी, जवाफदेहिता, पारदर्शिता र नवीनता सहित थप सुदृढ गर्दै अगाडि बढाउनु मेरो प्रमुख दायित्व हुनेछ।
संस्थालाई वित्तीय रूपमा सबल, सञ्चालनमा प्रभावकारी, सदस्यकेन्द्रित तथा दीर्घकालीन रूपमा दिगो बनाउन हामी निरन्तर कार्य गर्नेछौँ। आधुनिक प्रविधिको प्रयोग, प्रभावकारी जोखिम व्यवस्थापन, पारदर्शी वित्तीय अभ्यास तथा चुस्त संस्थागत प्रणालीमार्फत सदस्यहरूलाई अझ गुणस्तरीय र सहज सेवा प्रदान गर्ने हाम्रो प्राथमिकता रहनेछ।
जनसचेतनाको केन्द्रमा सधैँ शेयर सदस्य रहनेछन्। सदस्यका आवश्यकता, अपेक्षा र बदलिँदो परिस्थितिलाई बुझ्दै वित्तीय तथा गैर-वित्तीय सेवाको गुणस्तर, पहुँच र विश्वसनीयता अभिवृद्धि गर्न हामी निरन्तर प्रतिबद्ध रहनेछौँ।
सुशासन, नियामकीय अनुपालन, पारदर्शिता, जवाफदेहिता र वित्तीय अनुशासन हाम्रो व्यवस्थापनका आधारभूत स्तम्भहरू हुनेछन्। सदस्यको विश्वास, संस्थागत अनुशासन र व्यावसायिक व्यवस्थापनबीचको सन्तुलनबाट मात्र दिगो सफलता हासिल गर्न सकिन्छ भन्ने हाम्रो दृढ विश्वास छ।
म टिमवर्क र सामूहिक प्रयास मा विश्वास गर्दछु। सञ्चालक समिति, व्यवस्थापन, कर्मचारी, शेयर सदस्य तथा सम्पूर्ण सरोकारवालाहरूको सहकार्य र योगदानले जनसचेतनालाई आगामी दिनमा अझ सक्षम, प्रतिस्पर्धी र उत्कृष्ट संस्थाका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।
आगामी दिनमा हाम्रो लक्ष्य सुरक्षित, सबल, आधुनिक, समावेशी, सदस्यकेन्द्रित र दिगो सहकारी संस्था निर्माण गर्नु हुनेछ, जसले आफ्ना सदस्यहरूका लागि दीर्घकालीन मूल्य सिर्जना गर्दै समुदायको सामाजिक तथा आर्थिक विकासमा समेत अर्थपूर्ण योगदान पुर्याउन सकोस्।
जनसचेतन प्रति निरन्तर विश्वास, साथ, सहयोग र सद्भाव प्रदान गर्नुहुने सम्पूर्ण आदरणीय शेयर सदस्यज्यूहरू, सञ्चालक समिति, कर्मचारी, शुभेच्छुक तथा सरोकारवालाहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु।
आउनुहोस्, सबल जनसचेतन र सबल सहकारी अभियान निर्माणका लागि हामी सबै मिलेर अघि बढौँ।